आर्थिक वित्त तथा मौद्रिक नीति
प्रश्न नं. १:
"नेपालको संविधान नै राष्ट्रको मूल नीति हो । यस मूल नीतिमा अन्तर्निहित राष्ट्रिय उद्देश्य हासिल गर्नको लागि आर्थिक, मौद्रिक तथा वित्त नीतिहरू परिचालन गरिन्छ ।
“यो भनाईमा अन्तर्निहित सिद्धान्तको विश्लेषण गर्दै समृद्ध नेपालको सपना साकार बनाउन उल्लिखित नीतिहरूको उद्देश्य र कार्यान्वयनबिच कस्तो अन्तरसम्बन्ध हुनुपर्दछ । समीक्षात्मक विश्लेषण गर्नुहोस् । १५
उत्तर:
विषय प्रवेश:
मुलुकमा आर्थिक स्थायित्व कायम गरी विकास, सुशासन र समृद्धि हासिल गर्नका लागि संविधानको परिधि भित्र रही विभिन्न आर्थिक नीतिहरू जारी गरिन्छन् । राष्ट्रको उद्देश्य हासिल गर्न आर्थिक, वित्त र मौद्रिक नीतिहरू एक अर्कामा अन्तर सम्बन्धित हुनु अत्यावश्यक हुन्छ । यी नीतिहरूको सफल कार्यान्वयनबाट नै समृद्ध नेपालको सपना साकार बनाउन सकिन्छ।
संविधान, आर्थिक, वित्त र मौद्रिक नीति अन्तर्निहित सिद्धान्तको विश्लेषण
मुलुकको अर्थ नीति संविधानले मार्ग निर्देश गरेको हुन्छ । संविधानले लिएको आर्थिक नीति अनुरूप वित्तीय नीति र मौद्रिक नीति तर्जुमा गरी कार्यान्वयन गरिएको हुन्छ । वित्तीय नीतिले लिएका उद्देश्यहरू हासिल गर्न मौद्रिक नीतिले सहयोग गर्दछ । तसर्थ, राज्यको उद्देश्यहरू हासिल गर्न आर्थिक नीति, वित्तीय नीति, मौद्रिक नीति एक अर्कामा परिपूरक रहेका हुन्छन्।
प्रश्नानुसार, नीतिहरूको सिद्धान्तहरूको सम्बन्धमा विश्लेषण गर्दा, राज्यको आर्थिक नीतिले आवश्यकता र प्राथमिकता, समावेशी र दिगो विकास, आर्थिक स्थायित्व र वित्तीय अनुशासन को सिद्धान्तहरू अङ्गीकार गरेको हुनु पर्दछ । यसै गरी अधिकतम सामाजिक लाभ, राज्यको स्रोत परिचालनको क्षमता, आर्थिक वृद्धि र विकासको अवस्था, मुद्रास्फिति, पुँजी निर्माणको अवस्था, लगानीको अवस्था र वातावरण, आर्थिक सामाजिक अवस्था जस्ता सिद्धान्तहरूको विश्लेषण गरी संविधानको अधीनमा रही आर्थिक, वित्तीय र मौद्रिक नीतिहरू तर्जुमा गरिन्छ । यद्यपि संस्थागत समन्वयको अभाव, खण्डीकृत तथ्याङ्कको उपलब्धता र विश्वसनीयता, राजनीतिक दलीय स्वार्थ, महत्त्वाकाङ्क्षी लक्ष्यहरू राखिदा नीतिले आत्मसात् गरेका सिद्धान्त तथा उद्देश्यहरू अपेक्षित रूपमा हासिल हुने सकेका छैनन् ।
नीतिहरुको उद्देश्य र कार्यान्वयनबीच हुनुपर्ने अन्तर सम्बन्ध
® सार्वजनिक, निजी र सहकारी क्षेत्रको विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालन द्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य संविधानले राखेकोमा सोको कार्यान्वयनमा टेवा पुग्ने गरी वित्तीय र मौद्रिक नीति तर्जुमा गरिनु पर्दछ ।
® आर्थिक उपलब्धिहरूलाई सीमित व्यक्तिहरूमा मात्र केन्द्रित हुन नदिई आर्थिक उपलब्धिहरूको न्यायोचित वितरण मार्फत आर्थिक विभेद र असमानताहरूको अन्त्य गर्ने संवैधानिक उद्देश्य पुरा गर्न मौद्रिक र वित्तीय नीति मार्फत आवश्यक उपकरणहरूको कुशल परिचालन गरिनु पर्दछ ।
® आर्थिक नीतिले लगानी, उत्पादन, वितरण र उपयोगमा जोड दिन्छ, सोको कार्यान्वयनमा वित्तीय नीति र मौद्रिक नीति मार्फत आवश्यक वातावरण तयार गरिनु पर्दछ ।
® वित्तीय नीतिले लिएका रोजगारी सृजना गर्ने, आर्थिक वृद्धि र स्थायित्व कायम गर्ने, दिगो र समावेशी विकास, गरिबी निवारण, लगानी अभिवृद्धि, सामाजिक न्याय जस्ता उद्देश्य कार्यान्वयन गर्न मौद्रिक नीति परिचालित हुनु पर्दछ ।
® मौद्रिक नीतिले लिने आर्थिक स्थायित्व, नगद मौज्दात, व्याज दर निर्धारण, भुक्तानी सन्तुलन जस्ता उद्देश्यहरू हासिल गर्ने गरी अर्थ नीतिले समेत सहयोग पुर्याउनु पर्दछ ।
® विभिन्न वित्तीय खण्डीकृत तथ्याङ्कहरूको सङ्कलन, प्रशोधन र उपयोग गरी आर्थिक नीतिहरू तय गरिनु पर्दछ ।
® उच्च मूल्य वृद्धि नियन्त्रण गर्दै नागरिक हित कायम हुने गरी आर्थिक नीति तय हुनु पर्दछ ।
® वैदेशिक सहायतालाई पूँजी निर्माण र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने गरी आर्थिक नीतिहरू तय गरिनु पर्दछ ।
® राजस्व प्रशासनलाई सुदृढ गरी आन्तरिक स्रोत परिचालनमा आत्मनिर्भर बनाउने तर्फ वित्तीय नीति अग्रसर हुनु पर्दछ ।
® विनियोजन कुशलता, कार्यान्वयन दक्षता र वित्तीय अनुशासन कायम हुने गरी सार्वजनिक खर्च व्यवस्थापनलाई कुशल, नतिजामूलक र पारदर्शी र लागत प्रभावी हुने गरी आर्थिक नीति तर्जुमा गरिनु पर्दछ ।
निष्कर्ष :
संविधानले परिलक्षित गरेका विभिन्न आर्थिक उद्देश्यहरू हासिल गर्नका लागि आर्थिक नीति, वित्तीय नीति र मौद्रिक नीतिहरूले सहयोग पुर्याउँदछन । यी नीतिहरू बिच परिपूरक सम्बन्ध कायम गर्न सकिएमा आर्थिक समृद्धि हासिल हुने निश्चित छ ।
Comments
Post a Comment